१७ बैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगिएको छ ।
वार्ता बिना निष्कर्ष टुंगिए पनि सरकारी र शिक्षक पक्ष दुवैले छलफल सकारात्मक भएको प्रतिक्रिया भने दिन छोडेका छैनन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताए ।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको उनले प्रष्ट पारे । शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकको टोली वार्तामा सहभागी भएको थियो । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा मंगलबार पुनः वार्ता भएको हो ।