|  

भारतले ३६ घण्टाभित्र आक्रमण गर्ने सूचना पाएको पाकिस्तानको दाबी !

१७ बैशाख, काठमाडौं । पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ ।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।
सोही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले  सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन्।

‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४–३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।

मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन्।यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि मन्त्री तरारले दिएका छन्।  र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन्।