१७ बैशाख, काठमाडौं । युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ ।
अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ । सरकारले संसद्मा ल्याएको यस सम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ । प्रचलित ऐनको दफा २ को (च)मा पत्रपत्रिकाको परिभाषा छ ।
जहाँ पत्रपत्रिका भन्नाले समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई सम्झनुपर्ने भनेर परिभाषित गरिएको छ ।यो परिभाषाले अनलाइन सञ्चार माध्यमलाई समेट्दैन । यसकारण सरकारले प्रचलित ऐनमा नयाँ प्रावधान थपेको छ ।प्रचलित ऐनको दफा २ को (च)पछि (च१) थपेर अनलाइन सञ्चारमाध्यमको परिभाषा गरिएको छ ।
जहाँ भनिएको छ, ‘अनलाइन सञ्चारमाध्यम’ भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्विर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ ।’