|  

पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरिएकाे जनमत पार्टीकाे आरोप

१७ बैशाख, काठमाडौं । जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ ।’ चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ ।

यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ । प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ ।