१७ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाबीच आज भेटवार्ता भएको छ ।
नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू कश्मीरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुःखद भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए। मन्त्री लेखकले नेपाल-भारतबीचको सदियौं देखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए ।
भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे । उनले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे ।