|  

‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

१७ बैशाख, काठमाडाैं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी नीति तथा कार्यक्रममा समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो सुझाव दिएको हो । बैठकले विदेशी पर्यटकरुलाई नेपाल भ्रमण गर्न उपयुक्त वातावरण सिर्जना गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अगामी आर्थिक वर्षको बजेटमा कम्तीमा कुनै दुई वा तीन कृषि बालीमा आत्मनिर्भर हुनेगरी ठोस नीति तथा कार्यक्रमको घोषणा गर्न सुझाव दिएको छ । बैठकले कृषि उपजको आयात कम गर्दै लैजाने करमार्फत स्वदेशी कृषि उपजलाई संरक्षण दिँदै कृषि उपजको निर्यातमा जोड दिन समेत सुझाव दिएको छ ।

बैठकले शुद्ध र पर्याप्त पिउने पानी (एक घर एक धारा कार्यक्रम)को पूर्णरुपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अगामी आर्थिक वर्षमा जलविद्युत आयोजनालाई पूर्ण प्राथमिकता दिई बुढीगण्डकी, तमोर, उत्तरगंगा, कर्णाली, पश्चिम सेतीजस्ता आयोजनाको निर्माण निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने कार्यतालिका बनाएर अगाडि बढ्न समेत सरकारको ध्यानाकर्षण गरेको छ । त्यस्तै संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न शिक्षा नीतिमा आवश्यक सुधार गरी वैज्ञानिक, व्यवहारिक, सीपमुलक एवं रोजगार मुलक बनाउन सुझाव दिएको छ ।

बुधवारको समिति बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल भएको हो ।