१८ बैशाख, काठमाडौं । अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको छ ।
अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता घोषणा गरेको हो । युक्रेनले आफ्नो दुर्लभ खनिज पदार्थ अमेरिकालाई दिन सहमति जनाएको छ । अब अमेरिकाले युक्रेनको दुर्लभ खनिज पदार्थमा पहुँच पाउनेछ ।
यो सम्झौताअन्तर्गत युद्धग्रस्त युक्रेनको पुनस्स्थापनालाई गतिशीलरूपमा अगाडि बढाउन ‘म्युचल एसेटस्, ट्यालेन्टस् एन्ड क्यापाविलिटिज्’मा साझेदारी गरिने बताइएको स्रोतले जनाएको छ ।यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार सम्झौताअन्तर्गत दुई देशहरूले पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरूले किभको पुनर्प्राप्तिलाई गति दिन सक्छ भनी सुनिश्चित गर्न सहकार्य गर्नेछन् ।
युक्रेनमा २२ वटा दुर्लभ खनिजहरूको भण्डार छ, जुन अमेरिकी भूगर्भ सर्वेक्षणको ५० महत्त्वपूर्ण सामग्रीहरूमा समावेश छन् । यी खनिजहरू इलेक्ट्रोनिक्स, स्वच्छ ऊर्जा प्रविधि र हतियार प्रणालीका लागि आवश्यक छन् ।