१८ बैशाख, काठमाडौं । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावकाबीच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका हुन् । यससम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटमा जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टू एयरमेन’ जारी गरिन्छ ।
सो अवधीसम्म पाकिस्तानमा दर्ता भएका जहाज, भाडामा सञ्चालन भएका जहाज र पाकिस्तानी सैन्य विमानहरूले भारतको आकाश प्रयोग गर्न पाउने छैनन् । पहलगाम हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच भारतले पनि पाकिस्तानी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको हो।
भारत र पाकिस्तानबिच कुनै सिधा उडान भने छैन । तर, पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।