१८ बैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्तिको तयारी गर्नुपर्ने बताएका छन् ।
एक सय ३६ औँ मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै ठूलो आन्दोलनमा जाने जानकारी दिए ।
प्रचण्डले सरकारमा जाने चाहना नरहेको स्पष्ट पार्दै यथास्थितिवादी पार्टीहरूसँगको सत्ता साझेदारीभन्दा जनतासँगको सम्बन्धलाई प्राथमिकता दिने बताए ।
“हिजोको जनक्रान्तिमा साथ दिने योद्धा, घाइते, अपांग र जनतालाई फेरि एकचोटि संगठित गर्दै नयाँ क्रान्तिको तयारी गर्नुपर्छ,” उनले भने ।
उनले आगामी आन्दोलन शान्तिपूर्ण हुने बताउँदै सरकारले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहलाई कसैले रोक्न नसक्ने चेतावनी पनि दिए ।