|  

श्री ५ हटेपनि सत्तारुढ दलका नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयोः बाबुराम भट्टराई

१९ बैशाख, काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताएका छन् ।

बिहीबार राजधानीमा नेपाल समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी नेवा संघले संयुक्त रूपमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकहरूको श्रमलाई उच्च सम्मान गर्नु पर्ने पनि बताए ।

उनले मजदुरहरूले लडेर ल्याएको ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार  व्यवहारमा अझै लागु हुनु नसकेको बताए ।उनले श्री ५ हटाए पनि अहिलेका सत्तारुढ दलका नेताहरूको कार्यशैली श्री ३ को जस्तो भएको बताउँदै उनीहरूकै कारण  जनतामा असन्तुष्टि सृजना भएको दाबी गरे ।