१९ बैशाख, काठमाडौं । ‘पेस्तोल डान्स’ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने जसपाकी केन्द्रीय सदस्य डा. बबी सिंहलाई प्रहरीले सम्पर्कमा रहेन ‘सर्त’मा रिहा भएकी छन् ।
घटना बाहिरिएपछि उनलाई प्रहरीले बोलाएकामा बिहीबार साँझ कागज गरेर छाडिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तरी घर भएकी बबीले सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्दा पेस्तोल फायर गरेको स्वीकार गरेकी छन् । सो पेस्तोल नक्कली भएको उनले दाबी गरेकी छन् ।
डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जली कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सर्लाहीमा भएको र दसी समेत त्यहीँबाट बरामद गरिएको हुनाले अनुसन्धान पनि सर्लाहीबाट नै हुने बताइएको छ ।