१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
आज पोखरामा पत्रकारसँग उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन् । महासचिव गुरुङले भने, ‘पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ ।’
उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए । उनले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।