१९ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य सार्वजनिक भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण घाटामा रहेकोबारे जानकारी दिएका हुन । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए । अहिले श्वेतपत्रअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रास कट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताएका छन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दात शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।