|  

ज्ञानेन्द्र शाहीः सरकारको नीति कार्यक्रम पुरानो ढर्राको च्यातिएको कागज

१९ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर असन्तुष्टि जनाउँदै तीव्र आलोचना गरेका छन ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सांसद शाहीले नीति तथा कार्यक्रमलाई ‘पुरानो ढर्राको च्यातिएको कागज’ भनेका छन । उनले लेखेका छन, ‘टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो, अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो- यस्तै छ सरकारको नीति तथा कार्यक्रम ।’
सरकारले वर्षेनी दोहरिने ‘गरिने छ, भनिने छ, सुनिने छ’ शैलीमा कामको योजना ल्याउने गरे पनि व्यवहारमा परिणाम शून्य रहेको शाहीको आरोप छ । उनले भनेका छन्, ‘यो सुगा रटाइजस्तो मात्रै हो । न युवाको रोजगारीको ग्यारेन्टी छ, न देशको आर्थिक उत्थानको कुनै स्पष्ट खाका ।’

शाहीले नीति तथा कार्यक्रमको मूल उद्देश्य देशको समृद्धि नभइ भ्रष्टाचारलाई संस्थागत गर्नु रहेको आरोपसमेत लगाएका छन ।