१९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको टिप्पणी गरेका छन् ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका पुनले नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको टिप्पणी गरेका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यविहीन आउँछ कि भन्ने आशङ्का देखिएको प्रतिक्रिया दिए ।
पुनले संविधान संशोधन गर्ने कुरा गरे पनि सरकारले हालसम्म त्यो हुन नसकेको बताउदै नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट रुपमा ल्याउन नसकेको बताए ।
उनले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यो नीति तथा कार्यक्रमले जनतामा थप निराशा बढाउने टिप्पणी गरेका छन् ।