|  

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी कार्यक्रम

१९ बैशाख, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले फेल भइसकेको पुरानै कार्यक्रम भएको बताएका हुन् । 


उनले भने, ‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्‍याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो । अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ ।’

उनले अघिल्लो वर्ष करिब २ सय बुँदा राखेर बिरामी राष्ट्रपतिलाई सकस दिएकोमा यस पटक राष्ट्रपतिको स्वास्थ्यलाई ध्यानमा राखेर छोटो नीति तथा कार्यक्रम ल्याइएको बताए ।