२० बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् ।
आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन । उनले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन । पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र रहेको उनले उल्लेख गरिन ।
सङ्घभित्र भएका मतभेद त्यागेर एकताका साथ एनआरएनएको उद्देश्य पूरा गर्नका लागि सबै एकजुट हुनुको विकल्प नभएको उनले दोहोर्याईन । परराष्ट्रमन्त्री डा।राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताईन । उनले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गरिन । गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै आर्थिक सुधारको बाटोमा सहकार्य गर्न आवश्यक रहेको मन्त्री राणाको भनाइ छ । परराष्ट्रमन्त्री डा राणाले परराष्ट्र मन्त्रालयले पनि नेपाली डायस्पोरालाई हेर्ने एकाइ गठन गरेको उल्लेख गर्दै त्यसबाट सहजीकरण तथा सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताईन ।