|  

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : झलनाथ खनाल

२० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई आफूहरुको आलोचनात्मक समर्थन रहेको उल्लेख गरे । ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ, त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौँ,’ खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो। यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ। यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’

त्यस्तै उनले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे । तर, निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसद्‍मा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने खनालको भनाइ छ ।