|  

विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ : कांग्रेस नेता महर

२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वले व्यहोरिरहेका तीनवटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । उनले भने, ‘तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन । विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ । यी तीन विषयको सन्तुलनमा ध्यान नदिएमा भोलि विश्वले महासंकट व्यहोर्नुपर्ने हुनसक्छ । त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोबल पोलिसी निर्माण आजको आवश्यकता हो । र, युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ ।’

प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवश्यकता भएको उनको ठहर छ । नेपालका युवाका लागि स्थापना गरिएको सर्टीफिकेट धितो राखेर ऋण लिने व्वस्थाको कार्यान्वयन नहुँदा र युवा स्वरोगारको प्रभावकारिता नहुँदा अन्योलता थपिएको महरको भनाइ छ । एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान, प्रविधिको उचित ज्ञानले भरिपुर्ण हुनुपर्ने महरले औंल्याए । युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए ।

नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छ । ‘अबको युवालाई प्रविधियुक्त समेत बनाउनुपर्छ । जी एनजी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार ,मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए । युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवश्यक रहेको उनले औंल्याए ।