|  

रविमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो : सोबिता गौतम

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन ।

कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै उनले आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन् ।

साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क गरिन । न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको उनले बताइन । सांसद गौतमले भनिन, ‘न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ । किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो ।’

आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको उनको भनाइ छ । अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा र घोटला मात्रै आइरहेको उनले बताइन । उनले देशभर निराशा नै निराशा भइरहेको बताइन् ।