२१ बैशाख, काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियुमा एक सदस्यबाहेक सबै पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार विजयी भएका छन् ।
गएराति सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार एक जना सदस्यबाहेक बाँकी सबै पदहरूमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा रोहित कपाली ९०६ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्षमा एमालेनिकट अनेरास्ववियुका तिलकबहादुर कुमालले ३६५ मत ल्याए । त्यस्तै सचिवमा नेविसंघका रूपक न्यौपाने ५४७ मत प्राप्त गर्दै विजयी भए ।
अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ र अखिल क्रान्तिकारीका टिकाराम खत्रीले ४५६ मत पाए।त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याउँदा अनेरास्ववियुका सुष्मा शाहीले ४४९ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याए । सदस्यमा अनेरास्ववियुबाट माधव पाण्डे विजयी भए ।
बाँकी सबै सदस्य पनि नेविसंघले जितेको छ । नेविसंघबाट राम दाहाल, दिपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भए ।