२१ बैशाख, काठमाडौं । भारतले पाकिस्तानविरुद्ध प्रतीकारात्मक कदमहरू बढाउँदै लगेको छ ।
शनिबारबाट भारतमा पाकिस्तानी अभिनेता र क्रिकेटरका सामाजिक सञ्जालका खाता हेर्न नमिल्ने, व्यापारिक प्रतिबन्ध बढाउने र डाक सेवा रोक्ने निर्णय गरिएको छ । गत महिनाको अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएका थिए ।
उक्त घटनामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । तर पाकिस्तानले सो आरोपलाई खारेज गरेको छ । पाकिस्तानी सेनाले शनिबार सतह–देखि–सतह मिसाइल हतियार प्रणालीको प्रशिक्षण प्रक्षेपण गरेको घोषणा गरेपछि तनाव अझ बढेको छ । भारतको सञ्चार मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै हवाई र सतह मार्गबाट पाकिस्तानबाट आउने सबै प्रकारको डाक र पार्सलको आदानप्रदान रोक्ने निर्णय गरेको समाचार संस्था एफपीले बताएको छ ।
शनिबार थप प्रतिबन्धअन्तर्गत भारतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री र क्रिकेट कप्तान इमरान खानको इन्स्टाग्राम खाता भारतबाट हेर्न नमिल्ने बनाइएको हो । बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ अस्लमलगायत क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान र पूर्वखेलाडी शाहिद अफ्रिदी र वासिम अक्रमलको खाता पनि भारतबाट हेर्न नसक्ने गरी प्रतिबन्धित गरिएको छ ।
भारतले अप्रिल २८ मा पाकिस्तानी समाचार संस्थासहित उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो ।यसअघि नै यी दुई परम्परागत प्रतिद्वन्द्वी देशहरूले एकअर्काका नागरिकहरूलाई निष्कासन गरिसकेका छन् । मुख्य सीमा नाका बन्द गरिसकेका छन् भने एकअर्काको हवाईसीमा प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।