२१ बैशाख, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको विकल्प नभए पनि काम गराइको शैली परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।
विगत तीन महिनादेखि देशका विभिन्न गाउँ, शहरमा पुगेर फर्किएका महामन्त्री थापाले नागरिकको असन्तुष्टि चिर्न अहिलेको काम गराइले नपुग्ने बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा महामन्त्री थापाले सरकारले आफ्नो कार्यशैली बदल्न नसके सरकारको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने बताए । सरकारको टाउको एमालेको भएपनि शरीर काँग्रेसको भएकाले जसको ठूलो शरीर छ त्यसैलाई चोट धेरै लाग्ने आफूहरुले बुझेको उनको भनाई छ ।
धेरै क्षति व्यहोरेर राजनैतिक समझदारी टिकाउन नसकिने धारणा राख्दै उनले काँग्रेसले अहिले नै यसबारे केही नसोचेको बताए । सरकारको काम गराइको आलोचना गर्दा गठबन्धन नै परिवर्तन गर्न लाग्यो भनेर नबुझ्न पनि उनको आग्रह छ ।