२१ वैशाख, काठमाडौं । धादिङको गजुरी गाउँपालिका-२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा चैत २७ गतेमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका-९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै खेतबारीमा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएका थिए । रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए । उनीहरूले सुस्मिताको हत्याको लागि पटक-पटक प्रयास गरे पनि सफल भएनन । त्यसपछि चुडामणिले आफूले दिएको पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए । उनीहरुले पैसा फिर्ता मागेपछि चुडामणिकै हत्या गर्ने योजना बनाए र चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर उनको हत्या गरेको देखिएको छ । त्यतिबेला उनीहरूले चुडामणिको घाँटीमा डोरी समेत खसेका थिए । त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेको खुलेको थियो ।
साथै, घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन ।