२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र समृद्धिको पक्षमा एकतावद्ध हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन समापन समारोहमा बोल्दै प्रचण्डले अहिले आफूहरू सामाजिक न्याय र समृद्धिका लागि प्रयासरत रहेको भन्दै यसमा एकतावद्ध हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका हुन्।
गैरआवासीय नेपालीसंग रहेका अनुभव, स्रोत लगाएतले नेपालको अहिलेको आर्थिक विकासको निम्ति ठूलो सहयोग पुग्न सक्ने उनले बताए। त्यस्तै प्रचण्डले गैरआवासीय नेपालीलाई सहज रुपमा नेपाल लगानी गर्ने वातावरण बनाउन आफुहरुले पहल गर्ने धारणा राखे।
उनले संविधान निर्माण गर्दादेखि नै गैरआवासीय नेपालीको पक्षमा बहस गर्ने गरेको र सम्भव भएसम्म गैरआवासीय नेपालीको माग सम्बोधन गर्ने प्रयास गरेको जिकिर गरे।
उनले संस्थालाई एकतावद्ध भएर अघि बढाउन सुझाव दिए। गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।