२२ बैशाख, काठमाडौं । डेटिङ एप रअमा सुरक्षा कमजोरीका कारण लाखौँ प्रयोगकर्ताको निजी विवरण सार्वजनिक भएको खुलासा भएको छ ।
टेकक्रन्चले गरेको अनुसन्धानमा एपमा रहेको सुरक्षा त्रुटिका कारण प्रयोगकर्ताको नाम, जन्ममिति, यौन तथा डेटिङ प्राथमिकता, वास्तविक समयको ठेगाना जस्ता संवेदनशील जानकारी इन्टरनेटमा सजिलै पहुँच हुनेगरी बाहिरिएको भेटिएको हो ।
एपमा देखिएको लापरवाहीका कारण प्रयोगकर्ताको लोकेसन वा घर कुन गल्लीमा पर्छ भन्ने समेत सहजै पत्ता लगाउन सकिने अवस्था रहेको पाइएको हो ।
२०२३ मा सार्वजनिक भएको रअ (RAW) ले प्रयोगकर्ताबिचको अन्तर्क्रियालाई साँचो बनाउने दाबी गर्दै दैनिक सेल्फी अनिवार्य गर्ने सुविधा ल्याएको थियो । हालसम्म पाँच लाखभन्दा बढी पटक गुगल प्ले स्टोरबाट डाउनलोड भइसकेको यस एपले प्रयोगकर्ताको व्यक्तिगत गोपनीयताको गम्भीर उल्लंघन गरेको रिपोर्टमा उल्लेख छ ।
सुरक्षा कमजोरीबारे जानकारी दिएपछि कम्पनीले उक्त त्रुटि सच्याएको जनाएको छ ।तर कम्पनीले प्रयोगकर्तालाई आफ्ना विवरण सार्वजनिक भएकोबारे सिधै जानकारी दिएको छैन । कम्पनीले नियामक निकायलाई प्रतिवेदन बुझाउने मात्र बताएको छ ।
अहिले भने कम्पनीले सुरक्षा कमजोरी सच्याइसकेको र सार्वजनिक भएको सर्भर अब प्रयोगकर्ताको डेटा फिर्ता नदिने भएको उल्लेख गरेको छ ।