२२ बैशाख, काठमाडाैं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न विकास निर्माण लगायतका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानकर्षण गराए । उनले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने बारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरे । उनले टेण्डर मागको प्रक्रिया शुरु गर्ने भनेको ६ महिना भयो भन्दै अब कहिले निर्माण प्रक्रिया शुरु हुन्छ भन्दै प्रश्न गरे ।
उन भने, ‘मध्यपहाडी लोकमार्ग नेपालको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाले पूर्वपश्चिमका २६ जिल्लामा यातायातको सञ्जाल बिस्तार गर्ने उद्देश्य राखेको छ । तर जाजरकोटको मन्ताबीर र रुकुम, चौरजार र कुदु जोड्ने भेरी नदीमा सडक पुल हालसम्म नबन्दा हालसम्म उक्त आयोजनाले गति लिन सकेको छैन । मध्यपहाडी पुलको टेण्डर छिट्टै हुने भनेको पनि ६ महिना बितिसकेको छ । हाल अर्थ मन्त्रालयले स्रोत सुनिश्चिताको सहमती गर्न नसकिएको भन्ने छ यसको सत्यतथ्य के हो ? के कति कारणले टेण्डर हुन सकेको छैन र कहिले हुन्छ । भौतिक पूर्वाचार तथा यातायात मन्त्रालयमार्फत जवाफका लागि जोडदार माग गर्दछु ।’
नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले नेपाल र चीन जोड्ने दोलखाको लामाबगर नाका सञ्चालनमा सरकार उदासिन देखिएको बताए । उनले पर्यटनलगायत आयात र निर्यातबाट उल्लेख्य राजश्व वृद्धि हुने भएको उक्त नाका सञ्चालन र पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं-नारायणढ बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा सरकारको न्यानाकर्षण गराए । उनले निर्माणका लगि सबै ठाउँमा एकैपटक सडक भत्काएर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्ने परेको बताए । उनले पटकपटक म्याद थप्दा पनि सडक निर्माण सम्पन्न हुन नसक्नुको कारण सरकारसँग माग गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ को घटनाका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाका सहायक कमाण्डरहरु जेल भएपनि मुख्य कमाण्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको उनको भनाइ छ । दरबार हत्याकाण्डका समेत योजनाकार समेत शाह भएको भन्दै सरकारले गिरफ्तार गरी सम्पती छानबिन गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय सभा सदस्यहरुले आर्थिक अनियमितता भ्रष्टाचारका उजुरी तथा राष्ट्रिय गौरवका आयोजनाहरुको कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराएको थिए ।