२२ बैशाख, काठमाडाैं । राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ ।
आज राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत नेपालको मृत्युस्थितिबारे जानकारी गराएको हो । जसमा नेपालका सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा न्युन कर्णाली प्रदेशमा रहेको छ । कुल गैरसंस्थागत परिवार (६६ लाख ६० हजार ८ सय ४१) मध्ये कोशी प्रदेशमा मृत्यु स्थिति ३.१ प्रतिशत रहेको छ भने कर्णालीमा २.२ प्रतिशत रहेको छ । जिल्लास्तरको तथ्यांक तुलना गर्दा सर्वाधिक ३.८ प्रतिशत कपिलवस्तु र सबैभन्दा न्युनतम रुकुम-पश्चिममा १.८ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ । कुल गैरसंस्थागत परिवार (६६ लाख ६० हजार ८ सय ४१) मध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कुल १ लाख ९२ हजार १ सय ७८ परिवारमध्येबाट गणनाको दिनभन्दा ठिक अगाडिको १२ महिनाको समयावधिभित्र कुल १ लाख ९८ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । यसमा १ लाख १४ हजार ९ सय ९६ (५८प्रतिशत) पुरुवा र ८३ हजार ५ सय १७ (४२ प्रतिशत) महिला रहेका छन् । परिवारमा कुनै सदस्यको मृत्यु भएका परिवारमध्ये ९७ प्रतिशत परिवारमा १ जना मात्र सदस्यको मृत्यु भएको थियो भने बाँकी ३ प्रतिशत परिवारमा २ जनाको मृत्यु भएको देखिएको तथ्यांक कार्यालयले जनाएको छ । सिमित परिवारमा सो अवधिमा ६ जनासम्म सदस्यको मृत्यु भएको देखिएको छ ।
नेपालको कोरा मृत्युदर
कोरा मृत्युदर भने निरन्तर ओरालो लाग्दो अवस्थामा रहेको छ । जसले मध्यमवर्गको जनसंख्यालाई आधार मानेर प्रतिहजार जनसंख्यामा मृत्यु भएका मानिसको संख्यालाई प्रश्तुत गर्दछ । वि.सं. २०६८ मा यो ७.३ प्रतिहजार जनसंख्यामा थियो भने वि.सं. २०७८ मा घटेर ६.८ भएको छ । २०५८ मा कोरा मृत्युदर १०.२ थियो ।
नेपालमा मृत्युको लैङ्गिक अनुपात
मृत्युको लैङ्गिक अनुपात नेपालमा १३७.६ रहेको छ । अर्थात् १ हजार जना महिलाको मृत्यु हुँदा १ हजार ३ सय ७६ जना पुरुषको मृत्यु भएको हुन्छ । यस्तो अनुपात कर्णाली प्रदेशमा १४६.३ छ भने सुदूरपश्चिम प्रदेशमा १४४.३ रहेको छ । यी प्रादेशिक तहमा मृत्युका दुई उच्चतम लैङ्गिक अनुपात हुन् । जनसङ्ख्या पिरामिडमा मृत्यु भएका मानिसहरूको पाँच पाँच वर्षको उमेर समूहअनुसारको बनावट हेर्दा ९५ वर्ष र सोभन्दा माथिको समूहमा बाहेक अरू सबै उमेर समूहमा पुरुषहरूको मृत्यु सङ्ख्याले महिलाहरूको मृत्यु सङ्ख्यालाई पछाडि पारेको छ । प्रदेशगत रूपमा हेर्दा वृद्ध जनसङ्ख्याको मृत्युदर गण्डकी र वागमतीमा उच्च छ ।
नेपालमा बुढ्यौलीको अवस्था
नेपालको करिव ८० प्रतिशत जनसङ्ख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ । यस उमेरसम्ममा ८५ प्रतिशत महिला र ७५ प्रतिशत पुरुष बाँच्नसक्ने देखिन्छ । साठी (६०) वर्षको उमेरसम्म बाँच्नसक्ने अनुपात सम्पन्नताको उच्चतम पञ्चमकमा पर्ने परिवारका जनसङ्ख्याको हकमा ८४.७ प्रतिशत छ भने अति विपन्न परिवारका जनसङ्ख्याको हकमा ७७.७ प्रतिशत मात्र छ । पहाडी दलिततर्फ यो अनुपात ७२.८ वर्ष छ भने तराई दलिततर्फ ७६.७ वर्ष जुन जातजातितर्फका सबैभन्दा न्युन यस्तो अनुपात भएका समूहमा पर्दछन् ।
राष्ट्रिय तथ्यांक कार्यालयअन्तर्गको जनसंख्या शाखाका निर्देशक विनोदशरण आचार्यकाअनुसार विश्वका मानिसहरूको औसत आयुमा सन् १९९० को ६४.२ वर्षबाट सन् २०१९ मा ७२.६ वर्ष पुगेर उल्लेखनीय वृद्धि भएको छ । उनले यसमा अझै वृद्धि भई सन् २०५० मा ७७.१ वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको बताए । यस अवधिमा सामान्यभन्दा अत्यधिक प्रगति भएको देखिएको भएपनि असमानताहरू अझै पनि कायम छन् । यस्ता असमानताहरू अल्पविकसित देशहरूमा बढी देखिएका छन् । सन् २०५० सम्म विश्वभरि प्रत्येक ६ जनामा एक जना बुढ्यौली जनसङ्ख्या अर्थात ६५ वर्ष र सोभन्दा माथिका हुने अनुमान गरिएको छ । यस्तो अवस्था उत्तर अफ्रिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसङ्ख्याको वृद्धिको गति तिब्र हुनुको साथै सय वर्षसम्म बाँच्ने व्यक्तिहरूको सङ्ख्या तीनगुणाले बढ्ने अनुमान गरिएको छ । जन्मदर र मृत्युदर घटिरहेको अवस्था सँगसँगै नेपालको जनसङ्ख्या पनि संक्रमणकालतर्फ तिब्र गतिले प्रवेश गरिरहेको छ । साठी वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या वि.सं. २०६८ को ८.१ प्रतिशतबाट २०७८ मा १०.२ प्रतिशतमा बढेको छ । जसले वि.सं. २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । यसले स्वभवतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौतीको सिर्जना गर्नेछ ।
नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या वि.सं. २०४८ देखि लगभग तीन गुणा बढेको छ । जनसङ्ख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ । यसका पछाडि मुख्यतया जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको छ । बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको छ जसले आश्रित जनसङ्ख्याको अनुपातलाई अझै वृद्धि गरेको छ । भौगोलिक क्षेत्र र प्रदेश तहमा पनि वृद्ध जनसङ्ख्याको वितरणमा वि.सं. २०६८ र २०७८ को जनगणनाले केही भिन्नताहरू देखाएका छन् । यी दुई गणना अवधिका बीचमा पहाडी क्षेत्रको बुढ्यौली जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । वि.सं. २०६८ मा बुढ्यौली जनसङ्ख्या पहाडमा २५.७ प्रतिशत रहेकोमा १० वर्षपछि अर्थात वि.सं. २०७८ मा ४३.६ प्रतिशत पुगेको छ । यो प्रवृत्तिलाई हिमाली र तराई क्षेत्रले पनि निकटतम दरका साथ पछ्याएको देखिन्छ । तथापि, तराईको तुलनामा पहाड र हिमाली क्षेत्रले बुढ्यौली जनसङ्ख्याको तिब्रतर वृद्धि दरलाई प्रश्तुत गरेका छन् ।