२२ बैशाख, काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन नदिने स्पष्ट पारे । उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे । चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको बताए ।
पारस्परिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्धहरुमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गरे । दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताए । सभापति देउवाले भने, ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ । आजको यस फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाईमा लैजाने विश्वास लिएको छु । दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुका साथै दुई देशको जनताबीच आपसी सहकार्यको भावना थप बलियो बनाउनेछ । नेपालको राजनीतिक पोलिसी र चाइना पोलिसी नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’
सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताए ।