२२ बैशाख, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गरेका छन् ।
संसद भवन परिसरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुरुपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । उनले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर नीति तथा तथा कार्यक्रममाथि धारणा राखेको दाबी गरे । उनले सरकारले नीति तथा कार्यक्रम सिर्जनात्मक, रचनात्मक र जनता र राष्ट्र पक्षमा नभए गतवर्षको नीति तथा कार्यक्रमहरु समेत कपिपेस्ट गरेर झारो टार्ने काम गरेको आरोप लगाए ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले अहिले आफ्नो ध्यान सरकार बनाउनेतर्फ नभई जनतामा जाने रहेको बताए । उनले छिट्टै मध्यपहाडी लोकमार्ग अभियान गइरहेको बताए । उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ । हामी मध्यपहाडी लोकमार्ग अभियान हामी जाँदैछौं । जादु चलाउन चाहे त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको उनको टिप्पणी छ ।