२२ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीबाट शिरडीतर्फ उडेको विमानमा एयर होस्टेसलाई बदनियतपूर्वक छुने एक यात्रीलाई पक्राउ गरिएको छ ।
शुक्रबार इन्डियो एयरलाइन्सको विमानमा उक्त घटना भएपनि प्रहरीले आइतबार यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार आरोपित यात्रीले उडिरहेको विमानभित्र एयर होस्टेसलाई बदनियतपूर्वक छोएका थिए।
एयर होस्टेसले उक्त घटनाबारे तत्कालै क्रु मेनेजरलाई जानकारी गराएकी थिइन । विमान शिरडी विमानस्थलमा अवतरण गर्नासाथ सुरक्षा अधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको थियो । सुरक्षाकर्मीले आरोपित यात्रीलाई तत्काल नियन्त्रणमा लिएर रहाटा प्रहरी स्टेशनमा लगेको बताइएको छ। आरोपित यात्रीलाई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन गरेको पाइएको थियो । आरोपित यात्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।