|  

परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या (यस्ताे छ घटनाकाे नालीबेली)

२३ वैशाख, काठमाडौं । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको खुलेको छ ।

जिल्लाको गुर्भाकोट नगरपालिका-५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका-१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन ।भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । 

यस्तो छ घटनाको नालीबेली

गुर्भाकोट नगरपालिका-५, का दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । लगत्तै दर्शनले नेपाली सेनामा नाम निकाले । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत छन् । सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले । उक्त कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्‍याइन् । सोही घटनाबाट श्रीमान्-श्रीमतीबिच अविश्वास बढ्न थाल्यो । दर्शनले गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि प्रेमाले माफी पनि दिइन् । ‘तर दर्शनले अन्य महिलाहरूसँग सम्बन्ध बनाउने काम छाडेनन्’। 

श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै प्रेमाले उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबीच बेलाबेला झै-झगडा र कुटपिट हुने भइरहेको थियो । यो क्रम विगत पाँच वर्षदेखिकै चल्दै आएको थियो । प्रेमा छोरीसहित माइतीघर बस्दै आएकी थिइन् । दर्शन बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । श्रीमानले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरीको भनाइ छ । प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको माइतीलाई जानकारी गराएकी थिइन् ।

माइतीघरमा रहेकी प्रेमा श्रीमानलाई लिन भनेर छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबीच राम्रै कुरा भए पनि बिस्तारै झगडा हुन थाल्यो । ‘झगडा गर्दै उनीहरू अगाडि जङ्गलतिर पुग्छन् । त्यहाँ पुगेपछि एक अर्कोको मोबाइल हेर्न थाल्छन् । श्रीमान् लिन गएकी प्रेमाले ज्यानै दिनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर, घटना नसोचेकै भयो । भेट भएको केही बेरमा खटपट भएका यस्ता कयौँ क्षण प्रेमाले पहिले पनि बेहोरेकी सकेकी थिइन् ।

झिंगेनारा जङ्गलमा शनिबार बेलुका ७ बजेसम्म उनीहरूबीच झगडा भइरह्यो । त्यसपछि दर्शनले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । 

दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले नै शनिबारको घटना हुन पुगेको प्रहरीको ठहर छ । दर्शन शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । प्रेमाको हत्या आफू एक्लैले गरेको र आशङ्का नै मुख्य कारण भएको बयान उनले प्रहरी समक्ष दिएका छन् । प्रेमासँग विवाह भएको सुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र बिस्तारै बढी शंका गर्दा पाँच वर्षदेखि सम्बन्धमा खटपट हुँदै आएको उनले बयान दिएका छन् ।