२३ बैशाख, काठमाडौं । यही २६ वैशाखदेखि सुरु हुने यू-१९ साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारततर्फ प्रस्थान गर्दैछ ।
प्रतियोगिता ४ जेठसम्म भारतको अरुणाचल प्रदेशस्थित युपियाको गोल्डेन जुब्ली रंगशालामा सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका पदाधिकारीहरूले सोमबार टोलीलाई औपचारिकरूपमा बिदाइ गरेका थिए । यसपटकको साफ च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । नेपाल समूह ‘बी’ मा आयोजक तथा साबिक विजेता भारत र श्रीलंकासँग परेको छ । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन ।
नेपालले आफ्नो पहिलो खेल २८ वैशाखमा श्रीलंकाविरुद्ध खेल्ने छ । त्यसपछि नेपालले ३० वैशाखमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।