|  

प्रिसाको पोष्टमार्टम रिपोर्ट आएपनि मृत्युको कारण खुलेन !

२३ बैशाख, काठमाडाैं । भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन ।

तथ्यजाँचका लागि गरिएको पोष्टमार्टम रिपोर्टबाट कुनै कारण खुल्न नसकेको हो । भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माले पोष्टमार्टम रिपोर्टबाट कुनै कारण नखुलेको बताएका छन । एसएसपी शर्माले भने, ‘पोष्टमार्टम रिपोर्टबाट केही कारण खुल्न सकेको छैन, प्रारम्भिक रिपोर्टबारे जानकारी लिँदा कुनै कारण खुल्न नसकेको हो, अनुसन्धान अझै जारी रहेको छ, ल्यापटप र मोबाइल फोरेन्सिक ल्याबमा पठाइएको छ, त्यसको प्रतिवेदन आउन बाँकी रहेको छ ।

त्यस्तै, भारतको राष्ट्रिय मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनाको गम्भीर जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनेको छ । आयोगले ओडिसाका मुख्यसचिव र प्रहरी महानिर्देशक (डिजिपी)का नाममा सूचना जारी गर्दै साहको मृत्यु प्रकरणमा गम्भीर जाँचबुझ गर्न भनेको हो । आयोगले ९ मे अर्थात २७ वैशाखभित्र जाँचबुझ अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको छ ।