२३ बैशाख, काठमाडाैं । इन्डियन आइडल १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन दुर्घटनामा परेका छन्।
उत्तराखण्डदेखि दिल्ली आइरहेका बेला पवनदीप सवार कार आइतबार राति अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रमा रोकेर राखेको कन्टेनरसँग ठोक्किएको थियो । दुर्घटनामा उनको एमजी हेक्टर गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । दुर्घटनामा पवनदीपसमेत तीनजना गम्भीर रूपमा घाइते छन् ।
दुर्घटनाको समय कारमा पवनदीपसहित उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह सवार थिए । ड्राइभर निदाएकाले कार रोकिराखेको कन्टेनरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा पवनदीपको हात, खुट्टा र काँधमा फ्र्याक्चर भएको छ ।
उनको टाउकोमा पनि गहिरो चोट लागेको छ ।पहिला उनको अमरोहाको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । उनको हालत गम्भीर रहेकाले पछि उनलाई मुराराबाद र त्यसपछि डिडौलीको निजी अस्पतालमा रेफर गरिएको थियो ।अहिले उनलाई नोयडाको फोर्टिस अस्पतालमा आईसीयूमा भर्ती गरिएको छ । डाक्टरहरूले उनको अवस्था स्थिर रहेको र आगामी दिनमा उनको शल्यक्रिया गरिने बताएका छन् ।