|  

हेटौंडामा जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन

२३ बैशाख, काठमाडाैं ।  हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ ।

जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले अध्ययन थालेको हो ।घटना स्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित हुने छ ।

शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको थियो । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ ।