२३ बैशाख, काठमाडाैं । काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ ।
सांकेतिक नाम ‘बानेश्वर २६(६४)क’ लाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ । उनी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा कार्यरत रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।सुवेदीले २०८० चैत महिनामा ती किशोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर १४ वर्षीया ती किशोरीलाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ ।
उनले स्टाफ कोठामा बोलाइ करणी गर्ने हिसाबले बालिकाका संवेदनशील अंगहरूमा छुने–समाउने र उनलाई पनि आफ्ना अंग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको छ ।पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३ः३० बजे सुवेदीले सोही घटना दोहोर्याएपछि पीडित किशोरीले आमालाई सबै कुरा बताएकी थिइन् ।
त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाले बताइन् ।छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् ।
बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ । यद्यपि प्रिन्सिपल राईले भने विद्यालयले मिलापत्रका लागि दबाब दिएको सत्य नभएको दाबी गरेका छन् ।