२३ बैशाख, काठमाडाैं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले बिल गेट्ससँग भेटवार्ता गरेका छन् ।
चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स–२०२५ (पिएए–२०२५’ को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।
उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए ।
छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि संचालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो ।