|  

समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात गर्नुपर्छःउपप्रधानमन्त्री सिंह

२३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उनले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको उल्लेख गरे । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडि बढाउन सेवाभावले समर्पित व्यक्तिको समाजले मूल्याङ्कन गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।