|  

उपचाररत एमाले नेता प्रदीप नेपालको निधन

२३ बैशाख, काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले जानकारी दिए । स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासनले जनाएको छ । नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो ।

वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन । कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन ।