२३ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन्।
एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताए।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए।
उनले भने, ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए।
‘योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भए’, उनले भने, ‘संघीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन।’
मुख्यमन्त्री शाले भ्रमणका क्रममा पलियाकलाँ– गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवगामन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उहाँहरू सकारात्मक रहेको आफूले पाएको उनले जानकारी दिए।