|  

भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दावी

२४ बैशाख, काठमाडौं । पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।

फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको स्रोतले जनाएको छ । भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले  पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ ।

विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ । राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन् ।

यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो । भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ।