|  

प्रधानमन्त्री र मन्त्रीको तुरुन्त सम्पती विवरण सार्वजनिक हाेस्ः सांसद ज्वाला

२४ बैशाख, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् ।

आजको बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका हुन् । उनले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए । उनले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे । 

उनले भनेका छन् “यति बेला देशमा अनियमितता, बेथिति, कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ । प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् । अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको एउटा जिउँदो नमुना सिंहदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु । मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई ४ दिबार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य छैन । मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने, यो अवस्थाको अन्त्य गरियोस् ।”  

उनले प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तुरुन्त सम्पती विवरण सार्वजनिक गर्न माग गरे ।