|  

भारतले भन्याे- पाकिस्तानमाथिकाे आक्रमण पहलगाममा भएकाे आतंकवादी हमलाको जवाफ !

२४ बैशाख, काठमाडौं ।  भारतले पाकिस्तानमाथिको आक्रमणलाई अप्रिल २२ गते जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफ भनेको छ ।

बुधबार बिहानै पाकिस्तानका ९ ठाउँमा मिसाइल आक्रमण गरेपछि भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतको कदमबारे संक्षिप्त जानकारी गराएको हो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले कश्मिरको सामान्य अवस्थालाई खलल पार्ने उद्धेश्यले त्यसदिन आतंककारीहरूले पर्यटकहरूलाई लक्ष्य गरी आक्रमण गरेको बताएका छन् ।

उनले कश्मिरमा भएको उक्त आक्रमणमा पाकिस्तानको भूमिका रहेको प्रमाण भारतसँग रहेको पनि दाबी गरेको दाबी गरेका छन् । पहलगाममा भएको आतंकवादी आक्रमणबारे विश्वव्यापी चिन्ताका बाबजुद पनि पाकिस्तानले आफ्नो भूमिबाट सञ्चालित आतंकवादी सञ्जालहरूलाई नष्ट गर्नका लागि कुनै कारबाही नचलाएकाले पनि उक्त आक्रमणमा उसको भूमिका प्रष्ट हुने मिश्रीले बताएका छन् ।

सिमापारी हुने आतंकवादको जबाफमा भारतले बुधबार बिहान आक्रमण गरेको उनले प्रष्ट पारेका छन्।आक्रमण आतंकवादीहरुको आश्रयस्थलहरूलाई लक्ष्य गरेर गरिएको पनि उनले बताएको छन् । भारतीय सेनाका कर्नेल सोफया कुरेशीले पहलगाममा मारिएकाहरूको न्यायका लागि अपरेशन सिन्दुर सञ्चालन गरिएको बताएकी छन्।

कर्नेल कुरेशीले पाकिस्तानमा नौवटा आतंकवादी अड्डाहरूलाई लक्ष्य गरी आक्रमण गरिएको बताएकी छन्। त्यसमा भर्ती केन्द्रहरू, आतंकवादी लन्च प्याडहरू, तालिम शिविरहरूलाई लक्ष्य गरिएको उनले बताएकी छन्। यता पाकिस्तानले भारतीय आक्रमणको जबाफ दिने भनिसकेको छ।