२४ बैशाख, काठमाडौं । अमेरिकाले अब यमनका हुथी विद्रोहीहरूमाथि बमबारी नगर्ने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुथी विद्रोहीहरू विरुद्ध लगभग दुई महिनादेखि जारी अमेरिकी हवाई आक्रमण रोक्न आदेश दिएका छन् । हुथी विद्रोहीहरूले अब लड्न नचाहेको बताएकाले आफूले यो निर्णय लिएको ट्रम्पले बताए । हुथीहरूले समुद्री करिडोरमा जहाजहरूमाथि आक्रमण गर्न बन्द गर्ने वाचा गरेको उनले बताएका छन्। ओभल अफिसमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको भेटघाटमा ट्रम्पले यो घोषणा गरेका हुन् ।
गाजा पट्टीमा नाकाबन्दीको बदला लिन हुथी विद्रोहीहरूले समुद्रमा इजरायली जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि अमेरिकाले मार्चमा हुथी विद्रोहीहरूमाथि बमबारी सुरु गरेका थिए । आवश्यक परेमा शक्तिशाली आक्रमण गर्ने उनले त्यति बेला नै भनेका थिए । चेतावनीको असर लाल सागर, एडेनको खाडी, बाब अल-मन्डेब जलडमरू र अरब सागरमा पर्ने बताइएको थियो ।