|  

दश महिनामा सरकार फेरिँदैन, सहमतिअनुसार नै अघि बढ्छः गृहमन्त्री लेखक

२५ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन ।

आज ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताए । उनले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन-चार वटा अरु पनि कट्ने बताए ।

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए । उनले कानूनको अपूर्णताका कारण कामहरु अवरुद्ध भएको बताउँदै नौ महिना यताको समयमा आफूहरुले कानूनलाई पूर्णता दिएको बताए ।