२५ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताए । उनले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गरे । उनले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गरे ।
उनले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गरे । उनले विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट देखिएको धारणा राखे । उनले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताए ।