२५ बैशाख, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आफुहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गरेका हुन् । उनले आफुहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठमाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबी समेत गरे ।
साथै उनले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गरे । गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी गरे । उनले लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको कुरा आजदेखि पूरा भएको स्पष्ट पारे ।