२५ बैशाख, काठमाडाैं । भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व चर्किँदै गएको छ ।
पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी-आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेपछि भारतीय समूह प्रतिकार उत्रिएको इन्डिया हेराल्डले लेखेको छ । ‘इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको दाबी गरेको छ । समूहले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा लेख्दै भनेको छ, “पाकिस्तानको सर्भिलेन्स प्रणाली हाम्रो नियन्त्रणमा आएको छ ।”
ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको बताइएको छ । उनीहरूले सर्भिलेन्स भिडिओको एउटा क्लिपसमेत सार्वजनिक गरेका छन् ।