|  

भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने

२६ बैशाख, काठमाडौं । पाकिस्तानसँगको बढ्दो तनावका बीचमा भारत भरका विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

सबै यात्रुहरूको दोस्रो स्तरको चेकिङ सेकेन्डरी लेडर पोइन्ट चेकिङ अनिवार्य गरिएको छ । इन्डिगो र स्पाइसजेट एयरले यात्रासम्बन्धी सल्लाह जारी गर्दै यात्रुलाई बढी सतर्क रहन आग्रह गरेका छन् । भारतको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत गरिएको कारबाहीले पाकिस्तानसँग युद्धको अवस्था बनाएको छ ।

सीमामा पछिल्लो ३६ घण्टामा स्थितिहरू तीव्र रूपमा परिवर्तन भएका छन् । यिनै कारणले भारतभरका विमानस्थलमा अलर्ट जारी गरिएको हो । तनावको बीचमा पञ्जाब, जम्मु कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थल अस्थायी रूपमा नागरिक उडानका लागि बन्द गरिएका छन्।

स्पाइसजेटले यात्रुलाई उडानअघि कम्तिमा तीन घण्टा पहिला विमानस्थलमा पुग्न सुझाव दिएको छ । कडाइका साथ चेकिङ र बोर्डिङ प्रक्रिया सहज रूपमा सम्पन्न गर्न यस्तो भनिएको हो । इन्डिगोले पनि यात्रुलाई यात्रा समयभन्दा बढी समय छुट्याउन अपील गर्दै सुरक्षा कडा बनाइएको जनाएको छ।